बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सुनुवाइ आज स्थगित भएको छ।

उनीहरूको मुद्दा उच्च अदालत बुटवलको ३ नं इजलाशमा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलाशमा परेको थियो। सुप्रिम सहकारीमा बिगो बुझाइसके पनि थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै लामिछानेले जिल्ला अदालतको आदेशमाथि असन्तुष्टि जनाउँदै उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

advertisement

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, लामिछानेका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो। अघिल्लो बिहीबार पनि पाटन उच्च अदालतमा पेशी परेपछि बुटवल इजलाशको सुनुवाइ स्थगित भएको थियो।

यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलाशले सर्वोच्च अदालतमा रहेको मूल अभियोगको मिसिल माग्ने आदेश दिएको थियो। सुरु मिसिल प्राप्त भएपछि अघिल्लो बिहीबार पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएको थियो।

पहिले न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलाशले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएको हुँदा एकैसाथ सुनुवाइ गर्न आदेश दिएको थियो। लामिछानेले आफ्नो हिस्साको बिगो बुझाएर थुनाबाहिर रहेर मुद्दा लड्न माग गर्दा उच्च अदालतले जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित बुझाइसकेका छन्। जोशीले पनि त्यहि रकमको जमानत पेश गरेका थिए। तर दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने निश्चित नभएपछि रिहा गर्न नपाइने आदेश दुवैको हकमा समान रूपमा जारी भएको छ।

हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्। लामिछानेले आफू सहकारीको शेयर सदस्य, बचतकर्ता वा ऋणी नभएको भन्दै रकम नलिएको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com