काठमाडौं । इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा उच्च अदालत पाटनबाट धरौटीमा रिहा हुने भएका छन्।
बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख रुपैयाँ धरौटी बुझाएर छुट्टै राखी मुद्दा पुर्पक्ष अघि बढाउन आदेश दिएको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सो आदेशलाई बदर गर्दै उच्च अदालतले महराको उमेर, स्वास्थ्य अवस्था र उपलब्ध प्रमाणको अवस्था समेत विचार गर्दा थुनामा राखिराख्न आवश्यक नदेखिएको ठहर गरेको हो।
अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीको उमेर, स्वास्थ्य अवस्था तथा समग्र परिस्थितिलाई ध्यानमा राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ अनुसार कृष्णबहादुर महरासँग २० लाख रुपैयाँ धरौटी वा सो बराबरको जमानत लिएर मुद्दा पुर्पक्षका लागि तारेखमा राख्न आदेश गरिएको छ।’
अदालतले मूल जाहेरीमा महराको नाम स्पष्ट रूपमा उल्लेख नभएको, सह–अभियुक्तहरूले पनि उनीविरुद्ध पोल नगरेको तथा तत्काल उपलब्ध प्रमाणहरूले उनी थुनामै राखेर मात्र पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको (संहिताको दफा ६७ बमोजिम) उल्लेख गरेको छ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया