काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रको महाधिवेशन विवाद समाधान गर्न सभापति शेरबहादुर देउवासमक्ष ‘नियमित र विशेष दुवै महाधिवेशन गर्ने’ नयाँ प्रस्ताव अघि सारेका छन्।
बिहीबार साँझ देउवासँग भएको भेटवार्तामा महामन्त्री शर्माले यही महिनाभित्र विशेष महाधिवेशन र आगामी मंसिरमा १५औँ नियमित महाधिवेशन गर्ने विकल्प प्रस्तुत गरेको स्रोतले जनाएको छ।
उनको प्रस्तावअनुसार विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वकै संयोजनमा पार्टी आगामी निर्वाचनमा जाने र त्यसपछि नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने व्यवस्था मिलाउन सकिने बताइएको छ।
कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा तीव्र मतभेद जारी छ। विशेष महाधिवेशनका लागि केन्द्रीय समितिमा दर्ता भएको प्रस्ताव र त्यसको एजेन्डामा सहमति नजुटेपछि केन्द्रीय समितिको बैठक लगातार सारिँदै आएको छ।
महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि बिहीबारदेखि सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बीच वार्ता सुरु भएको हो।
बिहीबार सहमति नजुटेपछि शीर्ष नेताहरू आज पनि छलफलमा बस्ने तयारीमा छन्।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया