काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि रगत बग्नु नपर्ने र कोही घाइते नहुने गरी सुरक्षा सुनिश्चित गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन्।
नेपाली सेनाको मुख्यालय जंगी अड्डा भ्रमण गर्दै उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी थिइन्। उनका सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले ‘म आगामी चुनावमा एक थोपा पनि रगत बग्न नदिन र एक जना पनि घाइते नहुन सुनिश्चित गर्न चाहन्छु’ भनिन्। उनले यसअघि भएका चुनावको अनुभव र आगामी चुनावका सम्भावित चुनौतीहरूको विश्लेषण गर्दै सुरक्षा संवेदनशीलताको आधारमा सबै सुरक्षा निकायसँग समन्वयपूर्वक र त्रुटिरहित काम गर्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षा प्रत्याभूति दिलाउन, प्रहरी कारबाहीलाई सहज बनाउन, सबै राजनीतिक दलको गतिविधि अवरुद्ध नभएको सुनिश्चित गर्न र सुरक्षित वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजना सहित अघि बढ्न सेनालाई आग्रह गरिन्।
साथै, उनले जेनजी आन्दोलनका क्रममा हराएका वा लुटिएका हातहतियारको खोजी र नियन्त्रणका लागि सुरक्षा निकायसँग सहकार्य गर्न र फरार अपराधी पक्राउमा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिइन्।
यस अवसरमा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौतीहरू र आगामी योजना, साथै निर्वाचन सुरक्षामा सेनाको परिचालन योजना र ढाँचाबारे ब्रिफिङ प्रस्तुत गरेको थियो।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात गठित सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गराउँदै फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने राष्ट्रिय जिम्मेवारी रहेको उल्लेख गर्दै सेनाको भूमिका सफलतापूर्वक पूरा हुनेमा विश्वास व्यक्त गरिन्।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया