काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको कम्युनिस्ट पार्टीलाई कुनै “पुच्छर” वा छुट्टाछुट्टै समूहको आवश्यकता नरहेको बताएका छन्।
सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित नेकपाको एकता सन्देश सभामा सम्बोधन गर्दै उनले नेपाली कम्युनिस्ट पार्टी सबै विचार, धारणा र प्रवृत्तिलाई समेट्ने क्षमता भएको एकीकृत संगठन बनिसकेको उल्लेख गरे।
‘अब कम्युनिस्ट आन्दोलनमा अतिरिक्त पुच्छर झुण्ड्याउने समय सकियो,’ प्रचण्डले भने, ‘एकीकृत समाजवादी होस् वा माओवादी, वा अन्य कुनै केन्द्र—सबै धारहरू अब एउटै ठूला कम्युनिस्ट छातामुनि समाहित भइसकेका छन्।’
उनले विगतमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम भूगोलका आधारमा राखिएको भए पनि पार्टी अन्ततः जनताकै प्रतिनिधित्व गर्ने भएकाले ‘नेपाली कम्युनिस्ट पार्टी’ नामकरण गरिएको स्पष्ट पारे।
प्रचण्डका अनुसार अहिलेको पार्टी संरचना र एकताको ढाँचा देशमा स्थिर वामधारको निर्माणतर्फको महत्वपूर्ण कदम हो।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया