काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानले उठाएका मागका विषयमा प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटमा सबै माग स्पष्ट रूपमा प्रस्तुत गरिएको बताउँदै अब छिट्टै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद हुने व्यवस्था मिलिरहेको जानकारी दिए। उनका अनुसार अभियानका मागहरू व्यक्तिगत नभई जनताको भावना र अधिकारसँग जोडिएका भएकाले सरकारले समेत त्यसलाई गम्भीरतापूर्वक लिएको छ।
प्रसाईंले साना–ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउने, भूमिहीन सुकुम्बासी तथा कवाड व्यवसायीलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर नचलाउने, सेना–प्रहरी तथा निजामती कर्मचारीको तलब वृद्धि गर्ने, साथै हिन्दू अधिराज्य, प्रदेश खारेजी तथा राजसंस्थाबारे जनमत संग्रह गराउनुपर्नेजस्ता विषय सरकारलाई औपचारिक रूपमा बुझाइएको बताए।
उनले माग पूरा नभए फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नै प्रभावित हुन सक्ने दाबी गर्दै आन्दोलनबाट पछि नहट्ने स्पष्ट संकेत दिए। प्रसाईंले सरकार गैरजिम्मेवार बनेमा अभियानले अझ सशक्त आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनी पनि दिए।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार













प्रतिक्रिया