दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीहरु सच्याउँदै पार्टीलाई जनताको चाहना अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा १५ वटा विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको र यसको उद्देश्य केवल चुनाव जित मात्र नभई राष्ट्र र जनताको रक्षाका लागि ऐतिहासिक सङ्कल्प भएको बताए।

advertisement

उनले संविधानसभाबाट संविधान जारी भए पनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गर्दै भने, ‘विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रयास भए पनि अपेक्षित परिणाम हासिल गर्न सकिएन। हामीले क्रमशः कहाँ त्रुटि भयो, कहाँ कमजोरी रह्यो भन्ने समीक्षा गर्दै आएका छौँ।’ प्रचण्डले सभालाई ‘आत्मालोचना सभा’ र ‘सङ्कल्प सभा’को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने दृढता व्यक्त गरे।

युवा पुस्ताको पछिल्लो आन्दोलनले नेतृत्वलाई गम्भीर रूपमा झकझक्याएको प्रचण्डले बताए। उनले भने, ‘पछिल्लो ‘जेनजी’ आन्दोलन वा नयाँ पुस्ताको आन्दोलनले हामी सबैलाई चुनौती दिएको छ। यसले हामीलाई आत्मसमीक्षा गर्न र आफूलाई सुधार गर्न प्रेरित गरेको छ। युवा र जनताको भावना अनुसार हामीले परिवर्तन नगरेको खण्डमा आवश्यकता पूरा गर्न असम्भव छ।’

प्रचण्डले मजदुर, किसान, दलित, महिला, मुस्लिम र थारु लगायत उत्पीडित समुदायको हकहितका लागि नयाँ ढंगले सङ्घर्ष जारी गर्ने उद्घोष गरे। साथै, सुशासन, आर्थिक समृद्धि र रोजगारीको क्षेत्रमा आवश्यक पहल गर्न नसकेको स्वीकार गर्दै अब पार्टी पूर्ण रूपमा जनताको सेवामा समर्पित हुने बताएका छन्।

उनले नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रको सुरक्षा गर्ने मामिलामा कम्युनिस्टहरू नै सबैभन्दा भरपर्दो शक्ति भएको दावी पनि गरे।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com