दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेप्नुको परिणाम आज मुलुक र ती पार्टीहरू आफैंले भोगिरहेको बताएका छन्।

शनिबार दाङको लमहीमा आयोजित लुम्बिनी प्रदेश पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले सुशासनका लागि काम गर्ने प्रयासमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न कांग्रेस–एमएलएको मिलेमतो भएको बताए। उनले केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकारका गलत कामविरुद्ध आफूहरूले संसद र सडकबाट निरन्तर चेतावनी दिएको तर सरकारले सुनेको नभएको उल्लेख गरे।

advertisement

पुनले भने, ‘सरकारमा बसेर हामीले सुशासनका लागि काम गर्ने कोसिस गर्यौ। तर नियोजित रूपमा सरकार ढालियो। कांग्रेस र एमालेका नेताहरूले जनतालाई जसरी हेपिराखेका छन्, जनताको असन्तुष्टिलाई आत्मसात् गरेका छैनन्। हामीले त्यसबेला जनताको असन्तुष्टिलाई नेतृत्व गर्न सकेनौँ। यदि त्यस्तै शासन जारी रह्यो भने, ठूलो हावाहुरी आउन सक्ने चेतावनी दिइसकिएका थियौँ। अन्ततः त्यसै भयो।’

उनले जेनजी पुस्ताले उठाएका सुशासनका एजेन्डा र लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने उद्देश्यका लागि डेढ दर्जन कम्युनिष्ट घटकबीच एकता गरिएको उल्लेख गरे। जेनजी आन्दोलनबाट पार्टी र राज्यका निकायमा युवालाई नेतृत्वमा ल्याउने शिक्षा पाएर सोहीअनुसार अघि बढेको पुनले बताए।

पुनले जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र सडक तथा सरकारको मोर्चाको नेतृत्व गर्दै आएका प्रचण्ड र लामो समय शान्तिपूर्ण संसदीय मोर्चा, सडक, सदन र सरकारको नेतृत्वमा रहेर राजनीतिक नेतृत्व गरेका माधवकुमार नेपालको नेतृत्वमा भएको ध्रुवीकरणले नेपाली कम्युनिष्ट पार्टीलाई मूलधारको कम्युनिष्ट पार्टी बनाएको दावी गरे।

उनले आगामी फागुन २१ मा हुने मध्यावधि निर्वाचनमा आफ्नो दललाई पहिलो स्थानमा पुर्‍याउन कसैले रोक्न नसक्ने पनि बताए। विगतमा भएको कम्युनिष्ट एकता एमाले अध्यक्ष केपी ओलीको निरङ्कुश र व्यक्तिवादी प्रवृत्तिका कारण टिक्न नसकेको भन्दै त्यसबाट सिकेर अघि बढ्ने विश्वास पुनले व्यक्त गरे।

पुनले इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीले बहुमत कायम गर्न नसक्दा मुलुकमा लोकप्रियतावादी शक्तिहरूको उदय भएको पनि बताए।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com