काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अभिव्यक्तिका कारण सिर्जना भएका विभिन्न टिप्पणीका बीच सबै धर्मप्रति समान सम्मान रहेको स्पष्ट गरेकी छन्। उनले शान्ति, सद्भाव र सहिष्णुताको वातावरण जोगाइराख्न सबैमा आग्रहसमेत गरेकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा दिएको आफ्नै अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा विभिन्न प्रतिक्रियाहरू आएपछि प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नरहेको बताएकी हुन्।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘सबै धर्मप्रति मेरो उत्तिकै श्रद्धा र सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सबैमा विनम्र अनुरोध गर्दछु।’
मङ्सिर ९ गतेको कार्यक्रममा प्रधानमन्त्रीले मुस्लिम समुदायका केही देशहरूमा महिलासम्बन्धी देखिने व्यवहार र नियमनको उदाहरण प्रस्तुत गर्दै यी विषयहरू समाजका विविध अभ्यासहरूमाथि समीक्षात्मक टिप्पणीका रूपमा भनेको बताइएको छ। उनले कतिपय मुस्लिम देशमा महिलालाई स्वतन्त्रता र शिक्षामा प्रतिबन्ध देखिने उल्लेख गरेकी थिइन्, तर त्यसैगरी इतिहासका विभिन्न कालखण्डमा मुस्लिम तथा हिन्दू समाजमा महिलाले अधिकार र अवसर दुवै पाएको उदाहरण पनि रहेको स्पष्ट पारेकी थिइन्।
‘धर्मले महिलालाई दुःख देऊ, सताऊ भनेर कहाँ पनि भन्दैन,’ उनले कार्यक्रममा जोड दिएकी थिइन्।
उनको उक्त टिप्पणीलाई लिएर आलोचना बढेपछि प्रधानमन्त्रीले आफ्नो आशय महिलाको अधिकार, सम्मान र सुरक्षित जीवनका पक्षमा रहेको र कुनै पनि धर्म वा समुदायप्रति नकारात्मक दृष्टिकोण नरहेको दोहोर्याउँदै स्पष्ट पारिन्।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार













प्रतिक्रिया