अर्घाखाँची । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने उद्देश्यले अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन्।
निर्वाचन समितिका अनुसार कूल ३ हजार ६५० मतमध्ये पुरुष खुला तर्फ पिताम्बर भुसालले ३ हजार १८७ मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी भए। घिमिरे भने १ हजार ९८० मतको ठूलो अन्तरले पछि परेका हुन्।
यसैगरी बसन्त कुमार श्रेष्ठले २ हजार ८४१, रेशम थापाले २ हजार ७७०, शम्भु प्रसाद पोख्रेलले २ हजार ७४३, तेज प्रसाद खनालले २ हजार ५३३ र कमलप्रसाद घिमिरेले २ हजार ४४४ मत ल्याउँदै प्रतिनिधिमा निर्वाचित भए।
पराजित उम्मेदवारहरू मध्ये प्रेमनारायण गैरेले १ हजार २६५, रामजीप्रसाद घिमिरेले १ हजार २०७ र श्रीकृष्ण भुसालले १ हजार ८८ मत प्राप्त गरे।
महिला खुला तर्फ दिपा आचार्य ३ हजार ३७ मतसहित शीर्षस्थानमा रहिन्। विष्णुमाया आचार्यले २ हजार ९९३, लक्ष्मी गौतमले २ हजार ९१० र सुषमा श्रेष्ठले २ हजार ८६३ मत ल्याउँदै विजयी हुन सफल भए। गीता भाट क्षेत्री भने १ हजार ११८ मतसहित पराजित भइन्।
युवा खुला तर्फ तेज बहादुर रायमाझी तथा दलित तर्फ लिलबहादुर बिक र आशा परियार बिनाप्रतिद्वन्द्वी निर्वाचित भएका छन्।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार













प्रतिक्रिया