अमरगढी । डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन् । उनका अनुसार ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो । यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएका कार्यालयले जनाएको छ ।
डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदानस्थल पुनःव्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको कार्यालयका प्रमुख अवस्थीले बताए ।
अवस्थीका अनुसार जिल्लामा चार वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । विसं २०७९ को निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदानस्थल रहेकामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ मतदानस्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com