विराटनगर । विराटनगर विमानस्थलमा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गाली–गलौज गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
सोमबार साँझ विराटनगरमा आयोजित नेकपाको सन्देशसभा सम्पन्न गरी काठमाडौं फर्किने क्रममा विमानस्थल परिसरमा एक युवकले प्रचण्डलाई लक्षित गर्दै अभद्र शब्द प्रयोग गर्दै बर्बराएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि सुरक्षाकर्मीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएका हुन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मादक पदार्थ सेवन गरेको अवस्थामा प्रचण्डमाथि गाली गरिएको सूचना आएपछि सम्बन्धित व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। यद्यपि घटनाबारे प्रहरीले औपचारिक विज्ञप्ति भने जारी गरेको छैन।
प्रहरी स्रोतका अनुसार प्रचण्डसँगै बुद्ध एयरको जहाजमार्फत काठमाडौं जाने तयारीमा रहेका उदयपुरका अनुपबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया