काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटना तत्कालीन सरकारको जिम्मेवारीमा पर्ने बताएकी छन्। सो समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए।
कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा बोल्दै एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले सरकारको नेतृत्वमा बस्ने व्यक्ति घटनाका लागि नैतिक रूपमा उत्तरदायी हुने स्पष्ट धारणा व्यक्त गरिन्।
उनका अनुसार राज्यका विभिन्न क्षेत्रमा जस्तै प्राकृतिक प्रकोपमा सरकारलाई जिम्मेवार मानिने परम्परा भएकाले जनआन्दोलनका क्रममा सुरक्षाको व्यवस्थापना कमजोर हुँदा त्यसको जिम्मेवारी पनि सरकारमै जानु स्वाभाविक हो।
‘त्यो समयमा विद्यार्थीको जुलुसमा सुरक्षाको पर्याप्त व्यवस्था भएन कि भन्ने देखिन्छ। एउटै समय ठूलो संख्यामा युवाहरूले ज्यान गुमाउनु अत्यन्त पीडादायी घटना हो,’ भण्डारीले भनिन्, ‘त्यसको अपजस र नैतिक जिम्मेवारी तत्कालीन सरकारमै आउँछ।’
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्वको प्रत्यक्ष दोष कति छ भन्ने विषय बहसको हुन सक्ने बताए पनि नैतिक जिम्मेवारी भने अनिवार्य रूपमा उठ्ने उल्लेख गरिन्।
उनले भनिन्, ‘कुनै पदमा बसेका व्यक्तिको मातहतमा दुःखद घटना घटेमा नैतिक जिम्मेवारी लिनु नेतृत्वको आधारभूत कर्तव्य हो। सम्बन्धित व्यक्तिले नलिए पनि समाजले त्यो जिम्मेवारी सरकारमै जोड्छ।’
भण्डारीले घटनाका वास्तविक कमजोरी, सुरक्षा परिचालन, सूचना प्राप्ति तथा आकस्मिक व्यवस्थापनबारे विस्तृत छानबिन गर्नुपर्ने आवश्यकता पनि औंल्याइन्।
भदौ २३ गते संसद भवन क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा गोली चल्दा १९ जनाको मृत्यु भएको थियो। त्यसपछिका घाइतेमध्ये ४ जनाको उपचारका क्रममा भदौ २४ गतेसम्म मृत्यु भएको थियो। विभिन्न ठाउँमा भएका घटनासहित गरी आन्दोलनमा कूल ७६ जनाको मृत्यु भएको आधिकारिक तथ्यांकमा उल्लेख छ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया