काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको राजनीति केवल सत्ता र चुनावमा सीमित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेको बताएका छन्। सोमबार एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा आयोजित वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा उनले पार्टीको प्राथमिकता प्रकृति संरक्षण र दिगो वातावरणीय नीतिमा रहेको स्पष्ट गरे।
ओलीले नेपालकाे ठूलो भूभाग वन क्षेत्रले ढाकिएको उल्लेख गर्दै वन्यजन्तुको दिगो व्यवस्थापन क्षमता अनुसार हुनुपर्ने धारणा राखे। हाम्रा वनले धान्न सक्ने संख्यामा मात्र बाघ पाल्नुपर्छ, हौसिएर गर्ने काम होइन, उनले चेतावनी दिए।
वातावरणीय असन्तुलन र जलवायु अन्यायको प्रसङ्ग उठाउँदै उनले प्रदूषण बढाउने मुलुकहरूले फाइदा उठाइरहेको र वातावरण जोगाउनुपरेका मुलुकहरू आर्थिक बोझ व्यहोर्न बाध्य रहेको बताए। “हामी वातावरण जोगाउँदै छौँ, तर गरिबी पनि बोकेका छौँ। यो अन्यायपूर्ण अवस्था हो,” ओलीले भने।
राजनीतिक अव्यवस्थाबारे टिप्पणी गर्दै उनले नेपाली नागरिकलाई झुक्याउनेहरूको रजगज बढिरहेको आरोप लगाए। वातावरण सुधार अघि बढाउन राजनीतिक प्रणाली शुद्धिकरण अनिवार्य भएको उनले बताए।
अध्यक्ष ओलीले आगजनी, वितण्डा र राष्ट्रिय क्षतिलाई आन्दोलनका नाममा正्याउने गतिविधिले देश र लोकतन्त्र नै कमजोर बनिरहेको चेतावनी समेत दिए। अवैध ढंगले गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने अवस्था आए ‘सत्य’ शब्द नै नेपाली शब्दकोशबाट मेटिनुपर्ने व्यंग्य पनि उनले गरे।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया