एजेन्सी । बेलायतमा लामो समयदेखि बलात्कार र यौन दुराचारमा संलग्न रहेको पुष्टि भएपछि एक नेपाली नागरिकलाई कडा सजाय सुनाइएको छ। क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरो निवासी ४९ वर्षीय प्रमोद ढकाललाई २५ वर्षको कारावाससँगै सजाय पूरा भएपछि समेत थप ८ वर्ष ‘लाइसेन्स’ अर्थात् कडा निगरानीमा राख्ने फैसला गरेको हो।

अदालतले ढकाललाई पछिल्लो १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी २५ वटा गम्भीर अपराधमा दोषी ठहर गरेको छ। फैसलाअनुसार उनले १३ वर्ष मुनिका बालिकामाथि पाँच पटक र १३ वर्षभन्दा माथिका बालिकामाथि दुई पटक बलात्कार गरेका थिए। अदालतले ८ वर्षकी नाबालिकामाथि समेत बलात्कार गरेको ठहर गरेको छ।

advertisement

ढकालको अपराधमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै रहेका छन् भने एक जना पीडितलाई उनले लन्डन पुगेर यौन दुराचार गरेको खुलेको छ। अदालतले ढकालले स्थानीय समुदायमा बनाएको ‘विश्वासिलो सदस्य’ र धार्मिक व्यक्तिको छविलाई दुरुपयोग गरी अपराध गरेको निष्कर्ष निकालेको छ।

फैसलाअनुसार पीडितमध्ये धेरैजना ढकालसँग निकट पारिवारिक सम्बन्ध भएका परिवारका सदस्य थिए। एउटै परिवारका एकभन्दा बढी सदस्यसँग पटक–पटक यौन दुराचार गरिएको तथ्य पनि अदालतमा प्रमाणित भएको छ।

पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूका अनुसार ढकाल सन् २००६ देखि पिटरबरोमा बस्दै आएका थिए भने सन् १९९८ मै लन्डन पुगेका उनी यसअघि लामो समय बेलायतमै बसोबास गर्दै आएका थिए। ढकालको पुख्र्यौली घर धादिङ जिल्लामा रहेको जनाइएको छ भने हाल काठमाडौंमा समेत घर रहेको बताइएको छ।

पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा संलग्न ढकाललाई स्थानीय नेपाली समुदायले पण्डितका रूपमा समेत राम्रो सम्मान गर्ने गरेका थिए। तर, त्यही सामाजिक र धार्मिक पहुँचलाई उनले नाबालिकामाथि यौन दुराचार गर्न प्रयोग गरेको अदालतको ठहर छ।

बीबीसीसहित बेलायती सञ्चारमाध्यमहरूले यस फैसलालाई प्रमुख समाचारका रूपमा प्रकाशन गरेका छन्। बीबीसीले क्याम्ब्रिज क्राउन कोर्टको फैसलालाई उद्धृत गर्दै लेखेको समाचारमा अभियोजक क्लेयर म्याथ्युजले अदालतमा दिएको बयान उल्लेख छ, जसअनुसार पीडितहरूले ढकाललाई ‘दोस्रो बाबु’ जस्तै विश्वास गर्ने गर्थे। त्यही विश्वासको दुरुपयोग गर्दै ढकालले उनीहरूलाई डर, धम्की र मानसिक दबाबमा राखेर लामो समयसम्म यौन शोषण गरेको अभियोग प्रमाणित भएको हो।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com