एजेन्सी । भारतको छत्तीसगढ राज्यअन्तर्गत पश्चिम बस्तर डिभिजनको घना जंगल क्षेत्र (बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सिमाना) मा भारतीय सुरक्षाबलले माओवादीविरुद्ध हालैका महिनाकै सबैभन्दा ठुलो कारबाही सञ्चालन गरेको छ। संयुक्त खोजी तथा कम्बिङ अभियानका क्रममा हालसम्म १२ जना माओवादी कार्यकर्ताको शव फेला परेको सुरक्षास्रोतले जनाएको छ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले बीजापुर जिल्लामा जारी माओवादीविरोधी अभियान सफल रहेको जनाउँदै सुरक्षाकर्मीले साहसिक प्रतिआक्रमणमार्फत १२ माओवादीलाई निष्क्रिय पारेको बताएका छन्। तर, उक्त मुठभेडमा डीआरजी बीजापुरका हेड कन्स्टेबल मोनू वड्डी, कन्स्टेबल दुकारु गोन्डे र कन्स्टेबल रमेश सोडीले ज्यान गुमाएका छन्। मुख्यमन्त्री साईले सहिद सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
बीजापुरका प्रहरी प्रमुख (एसपी) डा. जितेन्द्र यादवका अनुसार डीआरजी बीजापुर–दन्तेवाडा, एसटीएफ, सीआरपीएफ र कोब्रा बटालियनका टोलीहरूले समन्वयमा खोजी गरिरहेका बेला बुधबार बिहान करिब ९ बजे माओवादीतर्फबाट भारी गोलीबारी भएको थियो। सुरक्षाबलले कडा प्रतिआक्रमण गरेपछि भएको छिटपुट गोलीबारी घण्टौंसम्म चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बस्तर रेन्जका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले मुठभेड स्थलबाट एसएलआर, इन्सास र थ्री–नट–थ्री राइफलसहित ठूलो परिमाणमा हतियार र गोला–बारुद बरामद भएको जानकारी दिए। मारिएका माओवादीहरूको पहिचान भने अझै खुल्न सकेको छैन।
यस कारबाहीमा सुरक्षाबलतर्फ पनि क्षति भएको छ। तीन जना डीआरजी कर्मचारीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घाइते सुरक्षाकर्मीको उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको अधिकारीहरूले बताएका छन्।
एसपी डा. यादवले क्षेत्रमा अझै पनि सघन खोजी अभियान जारी रहेको जनाउँदै थप सुदृढीकरण टोली परिचालन गरिएको जानकारी दिए। ‘क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरी खोजी कार्य तीव्र पारिएको छ,’ उनले भने।
यसैबीच, छत्तीसगढका गृहमन्त्री विजय शर्माले एसटीएफ, कोब्रा बटालियन र डीआरजीका टोलीहरूले बिहानदेखि निरन्तर रूपमा खोजी तथा सुरक्षात्मक कारबाही अघि बढाइरहेको बताएका छन्।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












प्रतिक्रिया