काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि २०० वर्ष लगाए पनि सकिनेजति धेरै मुद्दा थोपरेको गुनासो गरेका छन्। नख्खु कारागारमा बिहीबार ‘हामी नेपाल’ का संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग भेट हुँदै उनले यस्तो बताएका हुन्।
भेटपछि पत्रकारसँग कुरा गर्दै गुरुङले भने, रविले बरु अर्को आयोग बनाएर भए पनि विस्तृत छानबिन गर्नू, मलाई केही आपत्ति छैन भने। तर यतिधेरै मुद्दा लगाइएको छ कि २०० वर्ष लड्दा पनि नसकिने बताए।
गुरुङका अनुसार रविले आफूलाई गरिएको व्यवहार अन्यायपूर्ण भएको उल्लेख गर्दै छिटो निर्णयका लागि छुट्टै आयोगमार्फत भए पनि छानबिन अघि बढाउन आग्रह गरेका छन्।
रविमाथि गरिएको व्यवहारले आफू समेत दुःखी भएको गुरुङको भनाइ छ। राम्रो गर्न आएको मान्छेलाई चरित्र हत्या देखि लिएर अनेक किसिमका दुष्प्रचार भइरहेका छन्,उनले भने, देशका लागि केही सकारात्मक गर्न चाहनेलाई कसरी खेलाइन्छ भन्ने उदाहरण रवि बनेका छन्। यो केही व्यक्ति र संगठनहरूको पुरानै रणनीति जस्तै देखिन्छ।
भेटका क्रममा वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने आफ्नो प्रस्तावप्रति रवि सकारात्मक देखिएको समेत गुरुङले बताए। उनका अनुसार अहिले वैकल्पिक शक्तिहरूबीच एकता बनाउन पहल भइरहेको छ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया