काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता सुनिल सिंहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति कडा असन्तोष व्यक्त गरेका छन्। उनले ७६ जना सहिद र हजारौँ घाइतेको बलिदानको न्याय अहिलेसम्म नपाएको बताउँदै सरकारको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
सिंहले जेन–जीको स्पष्ट माग चुनाव नभएको भन्दै जेन–जिको नाममा बनेको सरकारबाटै जेन–जी युवाहरू ठगिएको कठोर यथार्थ देखिएको प्रतिक्रिया दिएका छन्। ‘जेन–जीको आडमा बनेको सरकारले नै जेन–जीलाई धोका दिएको छ,’ उनले सामाजिक संजालम लेखेका छन्।
उनले भनेका छन्, सरकार पक्षधर केही समूहले ‘प्रधानमन्त्रीको विकल्प छैन’ भन्ने भ्रम फैलाइरहेका छन् भने अदृश्य शक्तिको संरक्षणमा सहिदको बलिदान बिर्सिन खोजिँदैछ। ‘७६ जना सहिद र हजारौँ घाइतेको रगतको मूल्य सत्ता हो भने त्यो स्वीकार्य हुँदैन,’ सिंहको टिप्पणी छ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सिंहले एउटा गम्भीर प्रश्न पनि उठाएका छन्। उनले लेखेका छन्, ‘यदि भोलि तपाईंमाथि नै गोली चल्यो भने पहिलो माग न्याय हुनेछ कि चुनाव ?’
उनले युवाको आवाज थुनेर कुनै पनि देशले विकासको गति लिन नसकेको उदाहरण प्रस्तुत गर्दै नेपाल पनि यही नियतिको शिकार बन्दै गएको बताएका छन्। युवामाथि दमन गर्दै जबरजस्ती चुनाव गरिए त्यसले झन् भयावह अवस्था सिर्जना गर्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने बताएका छन्।
सिंहले सम्भावित आगामी चुनावपछि प्रधानमन्त्री कार्की राष्ट्रपति बन्न सक्ने चर्चाप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै निर्दोष युवाको रगतमा सत्ता उभ्याउने प्रवृत्ति भएको भन्दै असहमति जनाएका छन्।
उनले आफूजस्ता जेन–जी युवाहरूको बलिदानकै कारण सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै, त्यही युवाको पीडा र आवाज बेवास्ता नगर्न सरकारलाई चेतावनी दिएका छन्।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार













प्रतिक्रिया