काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन्।

नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताएका हुन्।

advertisement

महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गरे।

उनले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहति पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राखे।

महामन्त्री थापाले भने, ‘हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ। अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ। जेन-जी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौँ। सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ।’

उनले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराउनुका साथै सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे।

महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताए।

उनले आफू आगामी निर्वाचनमा पनि काठमाडौंबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

  • रासस

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com