काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौंमा उतार्ने घोषणा गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन समारोहलाई ऐतिहासिक बनाउने लक्ष्यसहित संघले देशभरका वडा, नगरपालिका, जिल्ला र प्रदेश कमिटीहरूलाई युवाहरूको अनिवार्य सहभागिताका लागि सक्रिय रूपमा परिचालन गरेको छ।

advertisement

थेबेले प्रस्तुत गरेको योजनाअनुसार काठमाडौं र ललितपुरका ६१ वडाबाट प्रत्येक १००–१०० जना दरले ६ हजार १ सय युवा उपस्थित गराइनेछ। उपत्यकाका अन्य १९ पालिकाबाट १ हजार–१ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमती प्रदेशका १० जिल्लाबाट १५ सय–१५ सय गरी १५ हजार युवालाई राजधानी ल्याउने तयारी गरिएको छ। यस्तै, कोशी प्रदेशबाट ४ हजार, मधेसबाट ४ हजार, गण्डकीबाट ३ हजार, लुम्बिनीबाट २ हजार तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सय–५ सय गरी कुल १ हजार युवा सहभागी गराउने योजना संघले सार्वजनिक गरेको छ।

अध्यक्ष थेबेले भने, ‘हामी संख्या अनुमान गरेर हैन, टाउको गनेरै ५० हजार युवा कार्यक्रमस्थलमा उतार्छौँ  यसका लागि हाम्रो सम्पूर्ण संगठन पूर्ण रूपमा तयारी अवस्थामा छ।’

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय छ। उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा तथा बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने एमालेले जनाएको छ।

उद्घाटनका दिन काठमाडौँ उपत्यकामा इतिहासकै ठूलो जनप्रदर्शन हुने दाबी एमालेले गर्दै आएको छ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com