धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धुनिबेसी नगरपालिका–६ चालिसेमा शनिबार भएको भीषण सवारी दुर्घटनामा ७० जना यात्रु परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले रातिसम्म घाइतेहरूको विवरण संकलन गर्दा उक्त सङ्ख्या दुर्घटनामा परेको सार्वजनिक गरेको हो ।
काठमाडौँबाट गइरहेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा गाडीको ब्रेक फेल भएपछि एकपछि अर्को गर्दै सात सवारी साधन आपसमा ठोक्किएका थिए । दुर्घटनामा गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ प ९१७ नम्बरको यात्रुबाहक बस, विपरीत दिशाबाट गजुरीतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, भारतको जिजे ०३ एजेड ३२३१ नम्बरको भारतीय यात्रुबाहक बस, बा.प्र.०६–००१ ग ००११ नम्बरको श्री सेकेन्डरी स्कुल रेडक्रस ग्राम चितवनको स्कुल बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल संलग्न थिए ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङ थाक्रेका सेख अलि गम्भीर घाइते भई टिचिङ अस्पताल पुर्याइएका थिए । उपचारका क्रममा साँझ ६:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै पहिचान नखुलेका एक पुरुषको पनि सोही समयमा मृत्यु भएको पुष्टि भएको छ । दुवैको शव टिचिङ अस्पतालमै राखिएको छ ।
घाइतेमध्ये गोरखा पालुङटारका विनोद पोखरेल, मिना पनेरु, इन्दिरा देवकोटा र काठमाडौँ तार्केश्वरकी सिता पोखरेललाई टाउको तथा हातखुट्टामा चोट लागेको छ । उनीहरूलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लमजुङका अजय घिमिरे, उनकी श्रीमती सूर्य घिमिरे र छोरा कुशल घिमिरे सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका छन् ।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको स्कुल बसमा सवार शिक्षक, चालक तथा विद्यार्थीहरू गरी दर्जनौँ घाइते भएका छन् । अधिकांशको अवस्था सामान्य रहे पनि केहीको ट्रमा सेन्टरमा उपचार जारी छ । यस्तै, अन्य सवारीमा सवार यात्रुहरू तथा होउ लेई, लिया शुरोङ, ताङ दाएन र क्वीजे जियाङ्ग्यानसहित चार चिनियाँ नागरिक समेत गरी कुल ७० जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ट्राफिक टोलीसहितको सुरक्षा टोली परिचालन गरिएको थियो । दुर्घटनाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग राति ११ बजेपछि दुईतर्फी रुपमा पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार












प्रतिक्रिया