काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका नदीहरू सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायतका नदी सफाइका लागि आवश्यक संरचना निर्माण भइरहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री  घिसिङले जानकारी दिए।

थापाथलीस्थित बागमती करिडोरमा निर्माण भइरहेका प्रशोधन प्लान्टहरूको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एडीबीको सहयोगमा परियोजना अघि बढेको बताउँदै, नदी किनारका रुख हटाउने र संरचना बनाउन स्थान तयार गर्न समय लागेको कारण काम ढिलो भएको स्पष्ट गरे। उनका अनुसार गुह्येश्वरी क्षेत्रको प्लान्ट निर्माण भइसकेको छ भने अन्य स्थानमा पनि प्लान्ट निर्माण प्रक्रिया जारी छ।

advertisement

ललितपुरतर्फका केही नदीका किनारमा निर्माण कार्य अघि बढ्दा स्थानीय स्तरमा उठेका विरोधका कारण परियोजनामा ढिलाइ भएको मन्त्री घिसिङले बताए। उनले टुकुचा नदीको ढल सफा गर्ने सम्पूर्ण प्रक्रिया प्रशोधन प्लान्टमार्फत व्यवस्थित गरेर बागमतीमा स्वच्छ पानी मिसाउने योजना रहेको उल्लेख गरे।

मन्त्री घिसिङका अनुसार काठमाडौंतर्फ प्लान्ट निर्माण चाँडै पूरा हुने देखिए पनि ललितपुरतर्फको कार्य रोकिँदा समग्र परियोजनामा प्रभाव परेको छ। समस्या समाधानका लागि आवश्यक समन्वय र छलफल भइरहेको उनले जानकारी दिए।

उपत्यकाका सबै नदी सफा गर्न दैनिक करिब ६ सय एमएलडी क्षमताको प्रशोधन प्लान्ट आवश्यक भए पनि हाल निर्माणाधीन संरचना त्यसको मात्र २० प्रतिशत बराबर रहेको मन्त्री घिसिङले बताए। एडीबीको करिब ३ अर्ब १८ करोड रुपैयाँ लगानीमा प्लान्ट निर्माण कार्य भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com