काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देशमा बढ्दै गएको अराजकता र अस्थिरता रोक्न एमालेलाई संगठनात्मक रूपमा अझ सबल बनाउनु आवश्यक रहेको बताएका छन्।
ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई बलियो बनाउन अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व अपरिहार्य रहेको दाबी गरे। ओली वर्तमान राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम नेता भएको तथ्य सबैले बुझ्नुपर्ने उनको भनाइ थियो।
ज्ञवालीले एमालेका नीतिका कारण अन्य दलले पनि आफ्नो आवाज समाजमा प्रभावकारी रूपमा उठाउन सकेको उल्लेख गर्दै, नीति र नेतृत्व चयनका लागि पृथक महाधिवेशन गर्ने परम्परा राख्ने एकमात्र पार्टी एमाले भएकाले यस संस्थागत अभ्यासले पार्टीलाई मजबुत बनाएको टिप्पणी गरे।
पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता–कार्यकर्ताको उपयोगिता नहुने भन्दै उनले जिम्मेवारीबाट टारिने कथित ‘गहनाका नेता’ पार्टीका लागि अर्थहीन रहेको ठहर समेत गरे।
हाल देशमा ‘जेनजीको खोल’ ओढेर अराजकता फैलाउने प्रवृत्ति सक्रिय रहेको आरोप लगाउँदै, समयक्रमसँगै ती गतिविधि स्पष्ट हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया