काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य, दीपक अमात्य र १० जना तत्कालीन सचिवसहित कुल ५५ जनालाई विपक्षी बनाएको छ। मुद्दामा ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दा हाल रुजु प्रक्रियामा छ र दर्ता हुन बाँकी रहेको छ।
यसअघि नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचारको आरोपमा एक हप्ता नपुग्दै अधिकारीविरुद्ध अर्को मुद्दा दायर भएको हो। उक्त हेलिपोर्ट निर्माणमा अख्तियारले झन्डै १४ करोड रुपैयाँको भ्रष्टाचार भएको दाबी गर्दै गत बुधबार मुद्दा दायर गरेको थियो।
पोखरा विमानस्थल निर्माण प्रकरणमा महानिर्देशक अधिकारी आयोजना प्रमुखका रूपमा रहेको हुँदा संसदीय समितिले भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारमा सिफारिस गरेको थियो।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार












प्रतिक्रिया