काठमाडौं । मंसिर २७ देखि सुरू हुने नेकपा एमालेको ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्याशी तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै राजनीतिक प्रस्ताव तयार पारेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नो प्रस्तावबाहेक अन्य कागजातमा छलफल नहुने संकेत दिइरहेका बेला पोखरेलले फरक धारणा प्रस्तुत गर्ने तयारी गरेका हुन्। उनले तयार पारेको दस्तावेज महाधिवेशनमा पेस गर्ने उद्देश्यसहित आजै ओलीसँग छलफल गर्ने कार्यक्रम रहेको पोखरेल पक्षका एक नेताले जानकारी दिए।
उनका अनुसार, ‘नेता पोखरेलले तयार पारेको राजनीतिक प्रस्ताव पूर्णरूपमा तयार भइसकेको छ। अध्यक्षलाई अवलोकन गराएर महाधिवेशनमा प्रस्तुत गर्ने विषयमा आज छलफल हुँदैछ।’
पोखरेलको प्रस्तावमा जेनजी आन्दोलनअघि–पछिको राजनीतिक परिस्थिति, पार्टी पुनर्गठन र लोकतान्त्रीकरण, देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै पार्टीले लिनुपर्ने नीति तथा राष्ट्रिय निकास, नवयुवामनसिकता र पार्टीको भविष्य यात्रा, साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यलाई समेटिएको बताइएको छ।
पोखरेल समूहले पार्टीमा भदौ २३ पश्चात् देखापरेको राजनीतिक उतार–चढावको गम्भीर समीक्षा आवश्यक रहेको भन्दै आएको छ। उनीहरूले विकसित परिस्थितिअनुसार नेकपा एमालेले नयाँ कार्यदिशा तय गर्नुपर्ने धारणा व्यक्त गर्दै आए पनि अध्यक्ष ओली त्यसमा सहमत देखिएका छैनन्।
यसअघि भदौ २०–२२ मा सम्पन्न एमाले विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधनसहितका कागजात पारित गरेको थियो। तर ती दस्तावेजमा आवश्यक सुधार र थप छलफल आवश्यक रहेको पोखरेल पक्षको निष्कर्ष छ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया