काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद् पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा दर्ता गरिएको रिट पार्टीको आधिकारिक निर्णयबाट नभएको स्पष्ट पारेका छन्।
आइतबार कांग्रेसका प्रमुख सचेतक तथा अन्य सचेतकहरूको हस्ताक्षरमा रिट तयार भएको र यसलाई पार्टीको तर्फबाट दर्ता गरिएको दाबी निर्वाचनपूर्वका प्रमुख सचेतक श्याम घिमिरेले गरेका थिए।
तर महामन्त्री थापाका अनुसार उक्त रिट कांग्रेस वा संसदीय दलको आधिकारिक नीतिअनुसार होइन, व्यक्तिगत पहलमा परेको हो। उनले कांग्रेस केन्द्रीय समितिले चुनावमा जाने निर्णय गरिसकेकोले पार्टी त्यही धाराणामा स्थिर रहेको बताए।
थापाले बैठकमा संसद् पुनर्स्थापनामै जानुपर्ने र चुनावमा जानुपर्ने दुवै धारणा उठेपनि, अदालतमा परेको रिट पुनर्स्थापनाको पक्षधर समूहको प्रतिनिधित्व मात्र भएको बताए।
उनका अनुसार कांग्रेसले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेका सार्वजनिक सरोकारका मुद्दाहरूलाई सम्मान गर्ने निर्णय गरिसकेको छ र अदालतको अन्तिम फैसलालाई नै मान्यता दिनेछ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया