काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी दिएका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो ।

advertisement

अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताए । उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गरे ।

मैले उनीहरुलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिए, उनीहरुले नयाँ प्याकेज ल्याउँछौँ भनेका छन्, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उनीहरुले आफ्नो योजना सुनाएका छन् , मन्त्री खरेलले भने । उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताए ।

एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई रु एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ । एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो ।

मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताए । “केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ”, उनले भने ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तरराष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने धारणा राखे । “टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ”, उनले भने ।

  • रासस

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com