ललितपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए । उनले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उनको भनाइ छ । १७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्दै उनले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताए ।
उनले देशमा समाजवाद ल्याउनको लागि नेपाली कम्युनिष्ट पार्टीले दुईतिहाई ल्याउनैपर्ने उल्लेख गरे । उनका अनुसार पार्टीले दुई तिहाई बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ । जनताको सुविधाको लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरुलाई नेपाल ल्याउने, नेपालबाट सीप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उनले बताए ।
आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने उनले दाबी गरे । उनले भने, ‘हामी नेपाली कम्युनिष्ट पार्टी, आज १७ वटा पार्टी यसमा एकीकृत भएका छन् र हामी अगाडी बढ्दैछौँ । आगामी फागुन २१ गतेको आम निर्वाचनमा हामीले भाग लिन्छौँ । अहिलेदेखि नै जानुपर्छ हामी जनताको बिचमा, कही कुनै पालिका खाली गर्ने होइन, कुनै वडा खाली गर्ने होइन, कुनै टोल खाली गर्ने होइन, सब ठाउँमा । १७ वटा पार्टी सामेल भइसकेपछि नेताको अभाव नै हुँदैन, ती सबै नेता जनताको घर दैलोमा पुग्ने हो । त्यो अभियान हामीले सुरु गर्ने हो ।’
गाैतमले भने– ‘मरौँला अथवा बाँचौला फरक पर्दैन तर हामी समाजवाद निर्माण गर्नको निम्ति आगामी फागुन २१ गतेको निर्वाचनबाट अहिले तपाईहरुको बीचमा पनि म भन्न चाहन्छु, दुई तिहाई बहुमतमा नै हामी पुग्नुपर्छ । दुईतिहाई बहुमतसहितको भएपछि हामीले शुरु गर्नेछौँ, समाजवादको काम त्यहाँबाट थालनी हुनेछ, बाटो बन्नेछ, उत्पादन हुनेछ । घरहरु बन्नेछन्, कसरी जनतालाई सुविधा हुन्छ, सारा संसारबाट वैज्ञानिकहरुलाई ल्याउनेछौँ । हामीले पनि सीप सिक्न पठाउनेछौँ, ठाउँ ठाउँमा । हामीले यस्तो किसिमको नेपाल निर्माण गर्नेछौँ र जसलाई हाम्रा सन्ततीहरुले सधैभरी गौरव गर्नेछन् ।’
उनले समाजवाद निर्माणको लागि युवाहरुलाई उत्पादनसँग जोड्नुपर्ने बताए । १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने उनको भनाइ छ । रोजगार नपाएर नै युवाहरु आन्दोलनमा उत्रिने गरेको उनले बताए ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया