काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो पछिल्लो अभिव्यक्तिबारे क्षमायाचनासहित माफी मागेका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग राखिएका मागबारे छलफलका लागि पुगेका प्रसाईँले विगतमा आफूले व्यक्त गरेका केही कथन स्मरण गर्दै प्रधानमन्त्रीसँग माफी मागेका हुन्।
प्रसाईँले भने, ‘मैले अघि भनेका केही कुरामा ‘सरी’ भन्छु, माफी माग्छु।’
भेटका क्रममा उनले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति उपहार दिँदै ‘दुर्गा माताकै रूप धारण गरेर काम गर्न’ सुझाव पनि दिएका थिए। सहभागी स्रोतका अनुसार प्रसाईँले भनेका थिए, ‘तपाईं माता हो, दुर्गा हो, त्यही रूप धारण गरेर देशका लागि काम गर्नुहोस्।’
यसअघि सिंहदरबार पुगेका प्रसाईँले प्रधानमन्त्रीलाई बुद्धको मूर्ति पनि भेटका रूपमा प्रदान गरेका थिए।
नागरिक बचाउ दलका संरक्षक तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजकसमेत रहेका प्रसाईँले सरकारसमक्ष राखिएको २७ बुँदे मागका मुख्य विषयहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल सँग विस्तृत छलफल भएको जनाइएको छ।
समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा संवादका लागि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई मंसिर २२ गते भेटको समय दिएको थियो।
भेटमा प्रसाईँले आफ्नो समूहले मंसिर ६ देखि निरन्तर उठाउँदै आएका मागहरूको पूर्ण कार्यान्वयनतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएको बताइएको छ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया