काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुन सक्ने चेतावनी दिएका छन्। सोमबार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले भने, ‘हामीले राखेका माग पूरा नभए जनविद्रोह हुनेछ र त्यसको परिणाम कसैले सोचेको जस्तो नहुनेछ।’

भेटमा प्रसाईंले आफ्ना माग स्पष्ट रूपमा प्रधानमन्त्रीसँग राखेका छन्। उनका अनुसार यी मागहरू नागरिकको जीवन निर्वाह र आम्दानीसँग प्रत्यक्ष सम्बन्धित छन्।

advertisement

प्रसाईंले बताएअनुसार प्रधानमन्त्री कार्कीले उनीहरूको मागको अध्ययन गरेर पुस २ गते निर्णय दिने आश्वासन दिएका छन्। उनले २०६२—०६३ को जनआन्दोलनको म्याण्डेटले संघीयता र धर्मनिरपेक्षता मात्रै ल्याउने उद्देश्य नभएको र राजसंस्था हटाउने विषय पनि नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेका छन्।

प्रसाईंले थपे, ‘सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन समयमै हुने छैन। आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले ध्यानपूर्वक सुन्नुभयो। यी मागहरू जनजीविकोपार्जनसँग सम्बन्धित छन्। कम्युनिष्टहरूले यसलाई आफ्नो भर्‍याङ बनाएर ठूलो आर्थिक लाभ कमाए। यदि म भए अहिले नै मुख्यसचिवलाई बोलाएर निर्णय गराउँथें। सबै कुरा अध्ययन गरेर, छलफल गरेर पुस २ गते निर्णय दिनुभयो भने हामी सहमत हुन्छौं।’

उनले २०६२—०६३ को जनआन्दोलनको म्याण्डेटका विषयमा पनि प्रश्न उठाउँदै भने, ‘अहिलेको व्यवस्था ठीक छैन। नाती खेलाउने व्यवस्था जस्ता विषयमा जनमत संग्रह गर्नुपर्छ। सही निर्णय नभए चुनाव हुँदैन।’

संरक्षक प्रसाईंले किराँत, बौद्ध र हिन्दु अधिराज्य, राजसंस्था र वर्तमान व्यवस्थासम्बन्धी विषयमा जनमत संग्रहको आवश्यकता रहेको पनि प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com