काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीको भारत भ्रमणका क्रममा उनका फ्यानहरूले कोलकाताको साल्ट लेक स्टेडियममा तोडफोड गरेका छन्।
जीओएटी टुर अन्तर्गत शनिबार कोलकातामा आयोजना गरिएको समारोहमा सहभागी मेसीलाई हेर्न नपाएको भन्दै केही फ्यानहरूले स्टेडियममा कुर्सी र बोतल फ्याँक्ने र तोडफोड गर्ने घटनाहरू सामाजिक सञ्जालमा देखिएका छन्।
बीबीसीका अनुसार, फ्यानहरूले खराब व्यवस्थाका कारण आफूहरूले मेसीलाई प्रत्यक्ष हेर्न पाउन नपाएको गुनासो गर्दै प्रवेश शुल्क फिर्ता माग गरेका थिए। स्टेडियममा सबैभन्दा सस्तो टिकटको मूल्य ५ हजार भारतीय रुपैयाँ रहेको बताइएको छ।
मेसी शनिबार बिहान फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पालसँगै कोलकातामा आएका थिए। उनका झलक पाउनका लागि कोलकाता एयरपोर्टमा हजारौं फ्यान रातिदेखि नै प्रतिक्षारत भएका थिए। मेसी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेटमा अवतरण गरेको थियो।
जीओएटी इन्डिया टुर–२०२५ अन्तर्गत मेसी तीन दिन भारतमा बस्नेछन् र यस दौरान चारवटा भारतीय शहर भ्रमण गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार












प्रतिक्रिया