सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले घिसिङलाई कृतघ्न व्यवहार गरेको आरोप लगाएका हुन्।
आफ्नो प्रधानमन्त्रीकालमा भएका कामहरूको स्मरण गर्दै प्रचण्डले लोडसेडिङ अन्त्यको श्रेय एकल रूपमा लिन खोजिएकोप्रति आपत्ति जनाए। उनले लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक निर्णय आफ्नो दोस्रो प्रधानमन्त्रीकालमै कार्यान्वयन भएको उल्लेख गर्दै त्यस उपलब्धिलाई कसैले नकार्न नसक्ने बताए।
उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसेडिङबाट पीडित देशलाई लोडसेडिङमुक्त बनाउने काम हामीले गरेका हौँ। यो निर्णय गलत थियो भनेर कसैले भन्न सक्दैन।’
कुलमान घिसिङप्रति कडा टिप्पणी गर्दै प्रचण्डले आफूले नै उनलाई प्राधिकरणमा ल्याएको दाबी गरे। उनले नियुक्ति गर्ने नेतृत्वलाई बिर्सेर अहिले सबै श्रेय आफूले मात्र लिएको जस्तो प्रस्तुत गर्नु उचित नभएको बताए।
‘दुई–दुई पटक प्रधानमन्त्री भएका हैसियतले मैले योग्य ठानेर उनलाई जिम्मेवारी दिएको हुँ,’ प्रचण्डले भने, ‘पहिला आफैँले मलाई बनाएको भन्नु र अहिले सबै बिर्सनु दुःखद हो। यसबारे म धेरै भन्न चाहन्नँ।’
लोडसेडिङ अन्त्य पूर्णतः व्यक्तिगत क्षमताको परिणाम भएको भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै प्रचण्डले यस्तो सोच परिवर्तन हुनुपर्ने बताए। उनले चेतावनी दिँदै भने, ‘यस्तो कृतघ्न व्यवहारले कसैलाई फाइदा हुँदैन। नेपाली जनताले पनि यस्ता प्रवृत्तिलाई सजिलै माफी दिने छैनन्।’
सभामा प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर, विभिन्न विश्वविद्यालयको स्थापना तथा गरिब किसानहरूको ऋण मिनाहा जस्ता महत्वपूर्ण निर्णयहरू गरिएको स्मरण पनि गराए।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया