काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक दलहरूले नेपाली जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न सके मुलुक छिट्टै समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्।
उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक परिवर्तन भए पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसक्दा जनतामा असन्तुष्टि बढ्दै गएको बताए। सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहिताको अभाव र जटिल प्रक्रियाका कारण शासन व्यवस्था सुस्त बन्दा पछिल्लो समय जेन–जी आन्दोलनजस्ता असन्तुष्टि देखा परेको उनको भनाइ थियो।
उनले सुशासन, सामाजिक न्याय र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै आपसी सहकार्य र समन्वयमार्फत जनचाहनाअनुसार काम गर्नुपर्नेमा जोड दिए। छिमेकी मुलुक चीन र भारत तीव्र विकासको यात्रामा अघि बढिरहँदा प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपाल किन पछाडि पर्यो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनले उल्लेख गरे।
मन्त्री घिसिङले राजनीतिक नेतृत्वमा सही सोच भएका युवा नेतृत्वको आवश्यकता औंल्याउँदै पोखरालाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सरकारले भ्रष्टाचारमुक्त सुशासन, पारदर्शी सेवा प्रवाह र उत्तरदायी नेतृत्व प्रदान गर्न सक्नुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया