काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका कुलमान घिसिङले जुन थालमा खाए, त्यहीँ थालमा छेद हाल्न खोजेको टिप्पणी गर्नुभएको छ।
शनिबार नेकपाले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “लोडसेडिङबाट पीडित नेपाललाई लोडसेडिङमुक्त बनाउने ऐतिहासिक काम हामीले सम्पन्न गरिसकेका छौं। यसमा कसैले नराम्रो भन्न सक्दैन। तर अहिले कुलमानले आफ्नो गुन बिर्सेर जुन थालमा खाए, त्यहीँ थालमा छेद हाल्न खोजेका छन्। मैले चाहन्छु, उनले त्यसो नगरोस्। कुलमानको बुद्धि फेरोस्। यस्तो बेगुनी भएर उनले केही हासिल गर्न सक्ने छैनन्।”
कुलमानले आफूलाई छोडेर नयाँ पार्टी खोलेको विषयमा प्रचण्डले नेपाली जनताले उनलाई माफ नदिने समेत दाबी गर्नुभयो। उहाँले कुलमानलाई दुईपटक प्रधानमन्त्री हुँदा नै आफूले राज्य व्यवस्थामा समावेश गराएको कुरा स्मरण गराउनुभयो।
सभामा प्रचण्डले सुदूरपश्चिम र कर्णालीबाट सुरु भएको एकता अभियानले नेकपालाई एक नम्बर पार्टी बनाउने दाबी पनि गर्नुभयो। उहाँका अनुसार दुई प्रदेशमा सम्पन्न एकतासभाले देशमा समाजवादी क्रान्तिको सन्देश दिएको छ।
प्रचण्डले स्पष्ट पार्नुभयो कि नेकपाले आयोजना गरिरहेका एकतासभा प्रचारात्मक नभई विगतका कमीकमोरीको आत्मसमीक्षा र आत्मालोचनाको माध्यम रहेको छ। आगामी दिनमा नेपाली जनतासँग मिलेर सुशासन, भ्रष्टाचारमुक्त, आर्थिक समृद्ध र सामाजिक न्यायसहितको समाज निर्माण गर्नु पार्टीको लक्ष्य रहेको उहाँले बताउनुभयो।
उहाँले वाचा गर्नुभयो कि विगतका कमजोरीहरू दोहोरिने छैनन्। नेपालमा कम्युनिस्ट घटकहरूलाई एकत्रित गर्न विगतदेखि प्रयास हुँदै आएको उल्लेख गर्दै प्रचण्डले जेएन–जि आन्दोलन सही भएको र पछिल्लो सरकार–जेएनबीचको सम्झौता आफूहरूको नीति र कार्यक्रमसँग सम्बन्धित रहेको दाबी गर्नुभयो।
त्यसैगरी सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले नेकपा इमानदारहरूको पार्टी भएको दाबी गर्नुभयो। भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरी देशलाई समृद्ध बनाइने होइन भन्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरी र साझा भावनामा अघि बढ्न नसकिने भएकाले विगतका कमजोरी स्वीकार्दै इमानदार भएर काम गर्ने सोचका साथ हामीले पार्टी एकता गरेका हौँ।” माधवकुमार नेपालले प्रचण्डसँग मिलेर देशका लागि धेरै सकारात्मक काम गरेको पनि दाबी गर्नुभयो।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया