काठमाडौं । विश्व कुस्ती मनोरञ्जनको इतिहासमा जोन सिना केवल एक प्रसिद्ध खेलाडी मात्र होइन, एउटा युगका प्रतीक हुन्। उनले लाखौँ समर्थकलाई प्रेरणा दिनुका साथै सम्पूर्ण कुस्ती क्षेत्रलाई नयाँ उचाइमा पुर्याएका छन्।
विसं २०८२ मंसिर २७ गते वासिङ्टन डिसीस्थित क्यापिटल वन रंगशालामा सम्पन्न ‘शनिबार रातको मुख्य प्रतियोगिता’ मा गुन्थरसँगको अन्तिम प्रतिस्पर्धामा आत्मसमर्पण गरेपछि उनले औपचारिक रूपमा कुस्ती रिङबाट विदा लिए। २४ वर्ष लामो यात्राको अन्त्य भएको यो क्षण अत्यन्त भावुक बन्यो। ‘तिमीले मलाई देख्न सक्दैनौ’ भन्ने चर्चित वाक्यांशका धनी, १७ पटकका विश्व विजेता सिनाले रिङलाई चुम्बन गर्दै विदा लिँदा सम्पूर्ण रंगशाला ‘धन्यवाद सिना’ भन्ने नाराले गुञ्जायमान भएको थियो।
जोन फेलिक्स एन्थोनी सिना विसं २०३४ वैशाख १० गते अमेरिकाको म्यासाचुसेट्स राज्यमा जन्मिएका हुन्। प्रारम्भमा शरीर सौष्ठवमा रुचि राख्ने उनी विसं २०५६ मा व्यावसायिक कुस्ती क्षेत्रमा प्रवेश गरे। विसं २०५८ मा विश्व कुस्ती संस्थासँग आबद्ध भएपछि उनको यात्राले तीव्रता पायो। विसं २०५९ मा मुख्य प्रतियोगितामा पदार्पण गर्दा उनी ‘निर्दयी आक्रामकता’ युगका प्रतिनिधि बने। सुरुमा गीत–कविता शैलीको पात्रका रूपमा प्रस्तुत भएका सिना निडर, स्पष्टवक्ता र विवादास्पद थिए। तर विसं २०६२ मा जेबीएललाई पराजित गर्दै पहिलो विश्व उपाधि जितेपछि उनी संस्थाको मुख्य अनुहार बने। त्यसपछि ‘मेहनत, निष्ठा र सम्मान’ भन्ने सन्देश बोकेको उनको छविले बालबालिकादेखि वृद्धसम्म सबैलाई आकर्षित गर्यो।
सिनाको यात्राको सबैभन्दा रोचक पक्ष उनका समर्थकहरूको विभाजन थियो। विसं २०६४ देखि २०७२ सम्म बालबालिकाले उनको प्रवेशमा उत्साह प्रकट गर्थे भने धेरै वयस्क दर्शकले असन्तुष्टि जनाउँथे। ‘सिना सधैं जित्छ’ भन्ने धारणा व्यापक बन्यो। यद्यपि आलोचनाका बाबजुद उनी कहिल्यै पछि हटेनन्। १७ पटक विश्व विजेता बनेका उनले रिक फ्लेयरको कीर्तिमान तोडे। एज, सिएम पंक, र्यान्डी ओर्टन, ब्रक लेस्नर र द रकजस्ता महान खेलाडीसँगका उनका प्रतिस्पर्धा आज पनि अविस्मरणीय छन्। विशेषगरी विसं २०६८ मा सिएम पंकसँगको ब्रीफकेस प्रतियोगिता र द रकसँगको जीवनमै एकपटक हुने प्रतिस्पर्धा इतिहासकै उत्कृष्ट मानिन्छन्।
विसं २०८१ मा भएको ब्रीफकेस प्रतियोगितामा सिनाले २०८२ लाई आफ्नो अन्तिम वर्ष घोषणा गरेका थिए। अपेक्षा गरिएअनुसार यो विदाइ यात्रा भव्य हुने अनुमान थियो, तर परिणाम मिश्रित रह्यो। सुरुमा २०० प्रतिस्पर्धा खेल्ने योजना भए पनि चलचित्र करियर र स्वास्थ्य बीमाका कारण उनले ३६ मात्र प्रतिस्पर्धा खेले।
२०८२ को राजकीय भिडन्तमा जे उसोले उनलाई बाहिर निकाले। त्यसपछि बन्द कोठा प्रतिस्पर्धामा उनले अप्रत्याशित रूपमा पक्ष परिवर्तन गर्दै द रक र ट्राभिस स्कटसँग मिलेर कोडी रोड्समाथि आक्रमण गरे। महाकुस्ती ४१ मा कोडीलाई पराजित गर्दै उनले १७औं विश्व उपाधि जिते, जुन ऐतिहासिक बन्यो। यद्यपि यो नकारात्मक पात्रको भूमिका छोटो रह्यो र केही समर्थकले यसलाई असफल माने। यात्राका स्मरणीय प्रतिस्पर्धामा एजे स्टाइल्स, र्यान्डी ओर्टन, सिएम पंक, ब्रक लेस्नर, लोगन पल र डोमिनिक मिस्टेरियोजस्ता खेलाडीसँगका भिडन्त परे। राजकीय मुकुट प्रतियोगितामा कोडीसँगको खेल निकै प्रशंसित भयो भने ब्रक लेस्नरसँगको छोटो पराजयले आलोचना पनि जन्मायो।
अन्तिम प्रतिस्पर्धामा ‘अन्तिम समय यही हो’ प्रतियोगिता जितेका गुन्थरले सिनालाई चुनौती दिएका थिए। सिनाले टेबलमाथि शक्तिशाली प्रहार गर्दै साहस देखाए, तर अन्ततः गुन्थरको घाँटी थिच्ने दाउमा आत्मसमर्पण गर्न बाध्य भए। यो हार दुर्लभ भए पनि यसले गुन्थरलाई नयाँ उचाइमा पुर्यायो।
कुस्ती बाहिर पनि सिनाको योगदान उल्लेखनीय छ। उनी चलचित्र क्षेत्रमा सफल अभिनेता बनेका छन्। साथै, इच्छा पूरा गराउने संस्थामार्फत ६५० भन्दा बढी बालबालिकाको सपना पूरा गर्दै उनले विश्व कीर्तिमानसमेत कायम गरेका छन्।
व्यक्तिगत जीवनमा उनी पत्नी शाय शरियतजादेहसँग सुखी छन्। सन्यासपछि उनी कुस्ती संस्थाका दूतका रूपमा रहनेछन् र अभिनय यात्रामा केन्द्रित हुनेछन्। जोन सिनाको सन्याससँगै कुस्ती इतिहासको एउटा अध्याय समाप्त भएको छ। उनी केवल महान खेलाडी मात्र होइनन्, प्रेरणाका स्रोत हुन्। उनका शब्दमा, “म बिर्सिइन सक्छु, तर त्यो स्वाभाविक हो, किनकि नयाँ तारा उदाउनेछन्।” समर्थकका लागि यो पीडादायी भए पनि जोन सिनाको विरासत सधैं अमर रहनेछ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












प्रतिक्रिया