काठमाडौँ । नेकपा एमालेको महाधिवेशन जारी रहँदा जेनजी फ्रन्टकी संयोजक रक्षा बमले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्र लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वकालको नैतिकतामाथि गम्भीर प्रश्न उठाएकी छन्।

उनले विशेष परिस्थितिमा समयभन्दा एक वर्ष अगाडि भइरहेको महाधिवेशनले सामान्य नेतृत्व चयन मात्र नभई देशकै सबैभन्दा ठूलो दलको भावी दिशा तय गर्ने उल्लेख गर्दै प्रतिनिधिहरूको मतको गम्भीरता र जिम्मेवारीप्रति ध्यानाकर्षण गराएकी छन्।

advertisement

संयोजक बमले प्रतिनिधिहरूलाई सेप्टेम्बर ८ अर्थात् भदौ २३ को घटनालाई स्मरण गराउँदै उक्त मिति सामान्य नभएको उल्लेख गरेकी छन्। उनले खुला पत्रमा लेखेकी छन्, “त्यो दिन तानाशाही प्रवृत्तिविरुद्ध आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको थियो। तर निरंकुश सरकारको आदेशमा निहत्था विद्यार्थीहरूमाथि गोली चलाइयो। उज्ज्वल भविष्यका सपना बोकेका युवाहरूको ज्यान लिइयो।”

उनले सो समयमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीकै हातमा रहेको स्मरण गराउँदै पार्टी नेतृत्वले अहिलेसम्म उक्त घटनाप्रति न माफी मागेको न त आत्मआलोचना गरेको आरोप लगाएकी छन्। बरु सार्वजनिक अभिव्यक्तिहरूमार्फत पीडितहरूलाई उपहास गर्ने र धम्क्याउने शैली देखिएको उनको दाबी छ।

रक्षा बमले महाधिवेशन प्रतिनिधिहरूको नैतिकता र देशप्रेमको परीक्षा भइरहेको उल्लेख गर्दै सबैभन्दा गम्भीर प्रश्न उठाएकी छन्, “केपी शर्मा ओलीको हात हाम्रो पुस्ताको रगतले रङ्गिएको छ भने, त्यसको जिम्मेवारी तपाईंहरू पनि बाँड्न तयार हुनुहुन्छ ?”

उनका अनुसार यो महाधिवेशन एमाले पार्टीलाई आत्मसुधार गर्ने र प्रतिनिधिहरू स्वयं सच्चिएर ‘युगान्तकारी परिवर्तनका संवाहक’ बन्ने अन्तिम अवसर हुन सक्छ। यदि यो अवसर गुमाइएमा पार्टी मात्र होइन, मुलुकको भविष्यसमेत अन्धकारतर्फ जाने चेतावनी उनले दिएकी छन्।

खुला पत्रको अन्त्यमा उनले प्रतिनिधिहरूलाई आग्रह गर्दै लेखेकी छन्, “तपाईंहरूको मन एकातिर र मत अर्कोतिर नहोस्। यसपटक यस्तो नेतृत्व चयन गर्नुस्, जसको कारण फेरि भदौ २३ जस्ता घटनाहरू दोहोरिन नपरोस्।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com