काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११औँ महाधिवेशनबाट एकताबद्ध र अझ सशक्त एमाले बाहिर निस्कने दाबी गरेका छन्। आइतबार महाधिवेशनको उद्घाटनस्थल बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एमाले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति बनेर अघि बढ्ने बताए।

बास्कोटाले एमालेको शक्ति र एकतालाई संकेत गर्दै विविधताबीचको एकतालाई पार्टीको विशेषता भएको उल्लेख गरे। ‘एमाले छ्वालीको लौरो होइन, स्टिलको लौरो हो। फरक–फरक विचार र धारबीचको एकता नै एमालेको शक्ति हो,’ उनले भने।

advertisement

उनले पार्टी केन्द्रीय कमिटीले गरेको संरचनासम्बन्धी निर्णय सहमतिमै भएको स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष एक जना, उपाध्यक्ष पाँच जना, महासचिव एक जना, उपमहासचिव तीन जना र सचिव नौ जनासहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय सर्वसम्मत भएको उनको भनाइ छ। साथै ९९ सदस्यीय पोलिटब्युरो र त्यसको एक तिहाइ संख्यामा स्थायी कमिटी गठन गर्ने निर्णय पनि सहमतिबाटै भएको उनले बताए।

बास्कोटाका अनुसार यो विषय सैद्धान्तिकभन्दा बढी प्राविधिक भएकाले नेतृत्वले प्रस्ताव गरेको संरचनामा सहमति जुटेको हो। ‘विभिन्न प्रश्न उठे पनि मतभेदको अवस्था आएन,’ उनले भने।

गोदावरीमा सम्पन्न विधान महाधिवेशन र हालको राजनीतिक तथा संगठनात्मक आवश्यकतालाई ध्यानमा राख्दै व्यवस्थापन सहज बनाउन संरचनामा केही समायोजन गरिएको बास्कोटाले बताए। ‘१०औँ महाधिवेशनकै जस्तै संरचना कायम रह्यो, केही पदाधिकारी घटे पनि कुल पदाधिकारी संख्या १९ नै रहने निर्णय भएको छ,’ उनले स्पष्ट पारे।

महाधिवेशनबाट नेतृत्व सहमतिमै टुंग्याउन प्रयास गरिने बताउँदै उनले सहमति सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाट निर्णय हुने र त्यसले पार्टी एकतामा असर नपार्ने दाबी गरे। ‘प्रतिनिधिहरूले गरेको निर्णय सबैले स्वीकार गर्छन् र गर्नुपर्छ,’ उनले भने।

आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग टाढा नभएको स्पष्ट पार्दै बास्कोटाले पार्टीभित्र अनावश्यक चर्चा फैलाइएको टिप्पणी गरे। ‘हामी एउटै पार्टीमा छौँ। अध्यक्ष डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ,’ उनले भने।

अधिवेशनका क्रममा देखिने मतभेद र बहसलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने उल्लेख गर्दै बास्कोटाले ‘आगो बलेपछि धुवाँ आउनु स्वाभाविक हो’ भन्दै त्यसलाई असामान्य नठान्न आग्रह गरे।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com