काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाका लागि करिब ५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।
एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ। यसअनुसार पार्टी संरचनामा रहेका उपत्यकासहित आठै प्रदेशबाट समान रूपमा एक–एक जना युवा प्रतिनिधि चयन गरिनेछ। यसरी प्रदेशगत रूपमा मात्रै आठ जना युवा केन्द्रीय कमिटीमा समेटिनेछन्।
त्यसैगरी खुला कोटाबाट २ जना, आदिवासी जनजातितर्फ २ जना, मधेशीतर्फ २ जना र दलिततर्फ १ जना युवा प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ। यसरी जम्मा १५ जना युवा सदस्य केन्द्रीय कमिटीमा रहनेछन्, जुन कुल सदस्य संख्याको ४.९८ प्रतिशत हुन आउँछ।
पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाका लागि पाँच प्रतिशत कोटा सुनिश्चित गरिएको जानकारी दिएका छन्।
यसअघि केन्द्रीय कमिटीमा युवाको सहभागिता १० देखि १५ प्रतिशतसम्म हुनुपर्ने माग उठ्दै आएको थियो। सोही सन्दर्भमा गत शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्तावसमेत राखेका थिए।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया