काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। चुनाव हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्।

पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन वरिष्ठ नेता पोखरेल पक्ष थापा गाउँको सम्पर्क कार्यालयमा जुटेको छ। पोखरेल पक्षले युवाहरूलाई अगाडि सार्दै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेको छ।

advertisement

यद्यपि पोखरेल पक्ष ओलीले आफ्नो प्यानल घोषणा नगरेसम्म नगर्ने स्थितिमा देखिन्छ । पोखरेल पक्षको छलफलमा उपाध्यक्ष सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे केन्द्रीय सदस्य रचना खड्का लगायतका नेताहरू छन्।

यो छलफलमा सचिव योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता पनि सहभागी छन्। यता अध्यक्ष ओली पक्ष पनि ओलीको निवास गुण्डुमा आफ्नो टीमबारे छलफलमा छ ।

ओली पक्षको टोलीमा अनुभवी र पाका नेताहरू उभिने देखिएको छ। ओली पक्षको टीम मिलाउन उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूसँग छलफलमा छन् ।

एमालेको एघारौँ महाधिवेशनअन्तर्गत पहिलो दिनको बन्दसत्र केही समय अगाडि सकिएपछि दुवै पक्ष रणनीति निर्माणमा जुटेका हुन्।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com