काठमाडौं । देशव्यापी चुनावी अभियानमा जुटेका धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना कार्यक्रमहरूमा नेपाल विद्युत् प्राधिकरणले पटक–पटक विद्युत् लाइन काटिदिने गरेको गुनासो गरेका छन् । आगामी निर्वाचनमा पार्टीलाई ‘एक नम्बर’ बनाउने दाबी गर्दै उनले पार्टी दर्ता गरी देश दौडाहामा निस्किएका हुन् ।

advertisement

साम्पाङले भाषणकै क्रममा ‘हा हा हा…’ भन्दै व्यंग्य गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले आफ्ना कार्यक्रम अवरुद्ध हुनु संयोग मात्र नभई आफूविरुद्ध नियोजित षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । खोटाङ मात्र होइन, भोजपुर, ताप्लेजुङ, संखुवासभा, हेटौंडा र चितवनसम्म पुग्दा पनि लाइन काटिएको आरोप उनले लगाएका छन् ।

यस विषयमा उनले फेसबुकमार्फत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै लक्षित गर्दै व्यंग्यात्मक पोस्टसमेत गरेका छन् । उनले लेखेका छन्, ‘कुलमान घिसिङजी, भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि काटिदिनु भो । अब हेटौंडा जाँदै छु, त्यहाँ पनि काटिदिनु है ! एमसीसीलाई खुसी बनाउनु, प्रभुशक्तिलाई खुसी पार्नु ल !’

हेटौंडाको हुप्रा चौर र चितवनको कार्यक्रममा पनि विद्युत् आपूर्ति नभएको भन्दै उनले यसलाई ‘खुट्टा तान्ने र बाटो छेक्ने राजनीति’ को संज्ञा दिएका छन् । उनले व्यंग्यात्मक रूपमा ‘ऊर्जा मन्त्रीज्यूलाई धन्यवाद’ भन्दै सरकारले आफूलाई असफल बनाउन खोजेको सन्देश दिएका छन् ।

तर नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशक इन्जिनियर मुनिन्द्र ठाकुरले साम्पाङका आरोपलाई निराधार र झुटो भएको बताएका छन् । उनले राजनीतिक आस्था वा व्यक्तिको पहिचानका आधारमा लाइन काट्ने कुरा असम्भव भएको दाबी गरे ।

‘उहाँले भनेजस्तो कुलमान सरले फोन गरेर फलानो ठाउँको लाइन काट भन्नुहुन्छ भन्ने कुरा यो जमानामा सम्भव छैन,’ ठाकुरले भने, ‘लाइन काट्न सिस्टममा कारण देखाउनुपर्छ, लगबुकमा इन्ट्री हुन्छ । बिनाकारण कर्मचारीले लाइन काट्न सक्दैनन् ।’

ठाकुरका अनुसार साम्पाङको कार्यक्रमकै समयमा लाइन जानु संयोग वा प्राविधिक कारण हुन सक्छ । रूखका हाँगा काट्ने, पोल सार्ने, ट्रान्सफर्मर मर्मतजस्ता पूर्वनिर्धारित कामका क्रममा लाइन काटिने गरिन्छ । यस्तै माग र आपूर्तिमा सन्तुलन नमिल्दा वा ओभरलोड हुँदा सिस्टम आफैँ ट्रिप हुनसक्ने उनले बताए ।

‘यदि कार्यक्रमबारे सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराइएको भए, मर्मतको काम रोकेर भए पनि विद्युत् आपूर्ति मिलाउँथ्यौं,’ उनले भने, ‘कर्मचारीहरूलाई कार्यक्रम छ भन्ने जानकारी नै नहुँदा यस्तो अवस्था आएको हुन सक्छ ।’

ठाकुरले अहिलेको प्रविधियुक्त समयमा कसैले कसैलाई फोन गरेर लाइन काट्न आदेश दिनु असम्भव भएको दाबी गर्दै भने, ‘यदि त्यस्तो भएको भए अडियो वा भिडियो तुरुन्तै सार्वजनिक भइसक्थ्यो । कुलमान सरजस्तो जिम्मेवार व्यक्तिबाट यस्तो आदेश आउँछ भनेर सोच्नु नै गलत हो ।’

प्राधिकरणले प्राविधिक कारणले कहिलेकाहीँ हुने विद्युत् अवरोधलाई राजनीतिक रंग नदिन र भ्रम नफैलाउन आग्रह गरेको छ । उता साम्पाङ भने आफ्नो यात्रामा निरन्तर अवरोध सिर्जना गरिएको भन्दै सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।

यसैबीच श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेले विभिन्न कार्यक्रममा लाइन काटिएको कुरा सत्य भएको दाबी गरे । यद्यपि पार्टीले यस विषयमा औपचारिक रूपमा प्राधिकरणलाई जानकारी नगराएको उनले स्वीकारे । ‘हामीले प्राधिकरणलाई भनेका छैनौं । धेरैजसो कार्यक्रममा लाइन काटिएको छ,’ उनले भने, ‘तर हामीले जेनेरेटर स्ट्यान्डबाइमा राख्ने गरेका छौं ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com