काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

सोमबार कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार सबै तयारी तीव्र गतिमा अघि बढिरहेको बताए।

advertisement

उनले भने, ‘फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको छ। निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सरकार दृढ संकल्पका साथ अघि बढेको छ।’ निर्वाचनको शान्तिपूर्ण वातावरण निर्माण र शान्ति–सुरक्षा कायम गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले निर्वाचनपूर्व, निर्वाचन अवधिमा तथा निर्वाचनपछिसमेत प्रदेश सरकार सक्रिय रहने गरी आवश्यक संयन्त्र निर्माण गरिएको जानकारी दिए।

‘केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुसार प्रदेश सरकारले पनि सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ भन्नेमा म विश्वस्त छु,’  उनले भने।

भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारले चालेका कदमहरूमध्ये सुरक्षा गोष्ठी पनि एक महत्वपूर्ण कडी भएको उल्लेख गर्दै उनले गोष्ठीमा गण्डकी प्रदेशका सुरक्षा चुनौतीहरूको विश्लेषण, आवश्यक रणनीति तय गर्ने तथा निर्वाचनका लागि भइसकेका र गर्न बाँकी तयारीबारे खुला छलफल गरी ठोस निष्कर्षमा पुगिने बताए।

सरकार गठन भएको तीन महिनाभित्र गृह मन्त्रालयको पहिलो प्राथमिकता मुलुकको अवस्था सामान्यीकरण गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउनु रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले विगतका घटनाबाट क्षतिग्रस्त सार्वजनिक कार्यालय र संरचनाको पुनर्स्थापना गरी सेवा सुचारु गर्नु चुनौतीपूर्ण कार्य भएको स्मरण गरे। ‘यस कार्यमा सहयोग गर्ने निजी क्षेत्र, नागरिक समाजलगायत सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भने।

त्यस्तै, उनले जेन–जी आन्दोलनका मागहरूलाई राज्यले अपनत्वसहित सम्बोधन गर्दै सहिदका सपना पूरा गर्ने उद्देश्यले प्रधानमन्त्री र जेन–जी प्रतिनिधिबीच सम्झौता भएको, उक्त सम्झौता राजपत्रमा प्रकाशित भई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी पनि दिए।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com