राजविराज । उच्च अदालत जनकपुरको राजविराज इजलासले सप्तरीको राजगढ गाउँपालिकामा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रेणुदेवी मण्डललाई दिन अन्तरिम आदेश जारी गरेको छ। अदालतको आदेशपछि उनी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन्।

रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या मुद्दाका अभियुक्त गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकेर फरार बनेपछि उपाध्यक्ष मण्डल अदालत पुगेकी थिइन्। आइतबार न्यायाधीश उज्ज्वल शुक्लको एकल इजलासमा भएको सुनुवाइमा वडाध्यक्षलाई कार्यवाहक बनाइएको पत्र गैरकानुनी ठहर गर्दै उपाध्यक्षलाई नै कार्यवाहक अध्यक्षका रूपमा काम गर्न आदेश दिइएको हो।

advertisement

गाउँपालिका अध्यक्ष मण्डलले गत कार्तिक १७ गते वडा नम्बर ४ का अध्यक्ष अशोककुमार साहलाई मंसिर १९ गतेदेखि लागू हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र जारी गरेका थिए। उपाध्यक्ष मण्डलले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) खण्ड ख (२) अनुसार अध्यक्ष अनुपस्थित रहेमा उपाध्यक्षले कार्यवाहकको जिम्मेवारी पाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै वडाध्यक्षलाई दिइएको पत्र बदर गर्न माग गरेकी थिइन्।

अदालतले अध्यक्षले दिएको पत्रले कानुन उल्लङ्घन गरेको ठहर गर्दै ऐनको दफा १६(४) खण्ड ख (२) बमोजिम उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्न कुनै बाधा अवरोध नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो।

२०५५ साउन ३ गते भएको पुजारी बैरागीको हत्या मुद्दा चलिरहँदा अदालतबाट जारी म्यादभित्र अध्यक्ष मण्डलसहित सात जना अभियुक्त उपस्थित नहुँदा र पक्राउ पनि नपरेपछि जिल्ला अदालतले २०७९ फागुन १४ गते मुद्दा मुलतबीमा राखेको थियो। यसअघि २०७८ वैशाख १५ गते पक्राउ पुर्जी जारी हुँदाहुँदै पनि मण्डल २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

अभियोगपत्रअनुसार अध्यक्ष मण्डलसहित उनका बुवा तत्कालीन बेल्ही चपेना गाविस अध्यक्ष गंगाराम मण्डललगायत अन्य अभियुक्तहरूले मिलेर पुजारी बैरागीको हत्या गरेको उल्लेख छ। मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई नदिने विवादका कारण हत्या भएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com