काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएको छ।

नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मूल्य देशले समेत चुकाउनुपरेको बताए।

advertisement

‘कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ, विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ, कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ’, महामन्त्री थापाले भने।

निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफैं पछ्याउने बताए। भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाइमा पुर्‍याउने जिम्मेवारी रहेको बताए।

‘कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने छ, गल्ती कमजोरी सुधार्नुपर्ने छ’, उनले भने। विगतमा पार्टी छोडेकाहरूको पार्टी पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो।

 

  • रासस

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com