भृकुटीमण्डपबाट रुँदै फर्किए प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन् र केवल केन्द्रीय सदस्य पदका लागि मात्र उम्मेदवारी दिएका छन्।



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन् र केवल केन्द्रीय सदस्य पदका लागि मात्र उम्मेदवारी दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलले बनाएको उपाध्यक्षको सूचीमा उनको नाम समावेश भए पनि ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताउँदै आएका थिए। स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि उनले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने अडान स्पष्ट पारेका थिए।

advertisement

तर, प्यानल तयार गर्दा उनलाई उपाध्यक्षको सूचीमा राखिएपछि ज्ञवाली असन्तुष्ट भएका छन्। भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिने क्रममा उनी निराश र भावुक देखिएका थिए।

आफू निकटस्थहरूसँग ज्ञवालीले बताएका छन्, ‘केन्द्रीय कमिटी सदस्यका लागि मनोनयन गर्दा एउटै व्यक्तिलाई दोहोर्‍याउने प्रवृत्ति ठीक छैन। म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता भएर पार्टीको आन्दोलनमा रहन्छु। सबैलाई समान अवसर मिल्नु पर्छ।’

ज्ञवालीले थपे, ‘मेरो मन निकै दुखेको छ। म पार्टी आन्दोलनमै सक्रिय छु र केन्द्रीय सदस्यबाहेक अन्य पदमा मेरो उम्मेदवारी अन्त्य भएको छ।’

उल्लेखनीय छ, ज्ञवालीले उपाध्यक्ष पदमा मनोनयनको प्रक्रिया र फेरबदलप्रति असन्तोष जनाउँदै पार्टीको आन्तरिक प्रतिस्पर्धामा पारदर्शिता र समान अवसरको पक्षमा आफ्नो स्थिर अडान राखेका छन्।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com