काठमाडौं । शिक्षा मन्त्री महाविर पुनले त्रिभुवन विश्वविद्यालयको ५१औँ दिक्षान्त समारोहको मिति परिवर्तन गर्न अस्वीकार गरेका छन्। क्रिसमस डे परेकै दिन अर्थात् पुस १० गते दिक्षान्त समारोह तय गरिएपछि आमूल परिवर्तन रिपब्लिकन पार्टीले मिति सार्न माग गरेको थियो।

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष तथा चर्चका पास्टर भरत गिरीले क्रिस्चियन समुदायका विद्यार्थीहरूको पर्वमा असर पर्ने भन्दै दिक्षान्त समारोह स्थगित गर्न शिक्षा मन्त्री पुनलाई दबाब दिएका थिए। करिब ५० वटा चर्चका प्रतिनिधिसँग छलफलपछि गिरीले मन्त्री पुनलाई भेटेर पुस १० मा क्रिसमस परेकाले लाखौँ विद्यार्थी प्रभावित हुने भन्दै मिति सार्न अनुरोध गरेका हुन्।

advertisement

गिरीले मन्त्रीसँगको फोन संवादमा क्रिसमस मनाउने विद्यार्थीहरूको पर्वमाथि हस्तक्षेप हुने अवस्था आएको उल्लेख गर्दै कार्यक्रम स्थगनको माग गरेका थिए। तर शिक्षा मन्त्री पुनले उक्त प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्।

मन्त्री पुनका अनुसार दिक्षान्त समारोह सुरुमा पुस १५ मा गर्ने तयारी भए पनि प्रमुख अतिथिका रूपमा आमन्त्रित नोबेल पुरस्कार विजेता जापानी नागरिकको समय पुस १० बाहेक अन्य दिन नमिल्ने भएकाले मिति परिवर्तन गर्न नसकिने अवस्था आएको हो। “प्रमुख अतिथिको समय मिल्ने एकमात्र दिन पुस १० भएकाले कार्यक्रम स्थगित गर्न सकिँदैन,” मन्त्री पुनको भनाइ छ।

मन्त्रीको जवाफप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष गिरीले एक जना व्यक्तिका कारण लाखौँ विद्यार्थीहरू आफ्नो पर्व मनाउन नपाउने अवस्था आएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए। तर मन्त्री पुनले दिक्षान्त समारोह पुस १० मै हुने र यसबारे कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन्।

त्रिभुवन विश्वविद्यालयले पुस १० गते काठमाडौंमा आफ्नो ५१औँ दिक्षान्त समारोह आयोजना गर्न लागेको छ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com