काठमाडौं । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत तथा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
निर्वाचन आयोगले आगामी २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ। यस निर्वाचनमा मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यतः निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले मिश्रित निर्वाचन प्रणालीअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा भाग लिने मान्यता रहँदै आएको छ। संविधानले दिएको व्यवस्थाअनुसार राजनीतिक दलहरूले दुवै प्रणालीका लागि उम्मेदवार छनोट गर्ने अभ्यास छ।
तर निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिई समानुपातिक निर्वाचन प्रणालीमा सहभागी नभएको देखिएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन १०० वटा राजनीतिक दलले दर्ता गराएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। त्यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कुल ११४ वटा राजनीतिक दल दर्ता भएका छन्।
आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ वटा राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिई १२ वटा राजनीतिक दलले पनि दर्ता गराएका छन्। आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सहभागी हुने राजनीतिक दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी रहेका छन्।
यसैगरी राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिने भएका छन्। यी राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनमा सहभागिता जनाए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने निर्णय गरेका छन्।
समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय राजनीतिक दलहरूले अन्य दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिक निर्वाचनमा सहभागी हुने भएकाले छुट्टै रूपमा दल दर्ता नगरेका हुन ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया