काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि परेको उम्मेदवारीमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध चयन भएका हुन्।
लुम्बिनी प्रदेशबाट महिला केन्द्रीय सदस्यतर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेशबाट महिला केन्द्रीय सदस्य तीन जना चयन हुने व्यवस्था रहेकाले तीनै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू स्वतः निर्वाचित भएका हुन्।
यसैगरी मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मधेशी युवातर्फ दुई पद रहे पनि एक पदमा उम्मेदवारी नपरेका कारण सो पद रिक्त रहने भएको छ। समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी एकल उम्मेदवारीका आधारमा निर्विरोध चयन भएकी छन्।
केन्द्रीय सदस्य समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् भने पिछडिएको क्षेत्रतर्फ महिलामा वदमीक्वारी बुढा चयन भएकी छन्। त्यस्तै प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्षमुनिका युवातर्फ नरेश रोकाया र सुशिलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन्।
यसै महाधिवेशनबाट पार्टीका विभिन्न आयोगका पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन्। अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल एकल उम्मेदवारीका आधारमा निर्विरोध निर्वाचित भएका छन्।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया