काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। उनले प्यानोरमा डकुमेन्ट्रीमा आफ्नो भाषणलाई गलत अर्थ लाग्ने तरिकाले सम्पादन गरिएको आरोप लगाएका हुन्।

फ्लोरिडाका अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्ति माग गरेका छन्।

advertisement

बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्तिको माग अस्वीकार गरिएको थियो। बीबीसीको तर्क छ, “मानहानिको दाबीको कुनै आधार छैन।”

ट्रम्पको कानूनी टोलीको भनाइ अनुसार, बीबीसीले उनको भाषणलाई “जानीबुझी, दुर्भावनापूर्ण र भ्रामक तरिकाले छेडछाड” गरी उनको छविमा क्षति पुर्‍याएको छ। मुद्दा दायर भएपछि बीबीसीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

ट्रम्पले बीबीसीविरुद्ध मानहानि आरोपका साथै फ्लोरिडा ट्रेड प्राक्टिसेज कानूनको उल्लंघनसम्बन्धी अर्को मुद्दा पनि दायर गरेका छन्।

प्यानोरमा सम्पादन विवाद के हो?

६ जनवरी २०२१ मा ट्रम्पले आफ्नो भाषणमा वाशिंगटनमा समर्थकहरूलाई भनेका थिए, “हामी क्यापिटलसम्म जानेछौं र हामी हाम्रा बहादुर सिनेटर र कंग्रेसमेन तथा कंग्रेसविमेनको समर्थन गर्नेछौं।”

उनले भाषणमा ५० मिनेटभन्दा पछि भनेका थिए, “र हामी लड्नेछौं। हामी सम्पूर्ण शक्ति प्रयोग गरेर लड्नेछौं।”

तर बीबीसीको प्यानोरमा कार्यक्रममा एउटा क्लिपमा ट्रम्पलाई यसरी बोल्दै देखाइएको थियो – “हामी क्यापिटलसम्म जानेछौं… र म तपाईंहरूसँग त्यहाँ हुनेछु। र हामी लड्नेछौं। हामी सम्पूर्ण शक्ति प्रयोग गरेर लड्नेछौं।”

सम्पादनको क्रममा ५० मिनेटको अन्तरालमा फरक-फरक प्रसंगमा बोलेका यी अभिव्यक्तिहरूलाई काटछाँट गरेर एकै ठाउँमा जोडिएको थियो, जसले भड्काउ र भ्रामक अर्थ दिने तरिका सिर्जना गरेको थियो।

ट्रम्पले “बेस्सरी संघर्ष गर्छौं” भन्ने भाग अमेरिकी निर्वाचनमा हुने सम्भावित भ्रष्टाचारको प्रसंगमा बोलेका थिए, तर सम्पादनले यसलाई “हामी क्यापिटलतिर जानेछौं” भन्ने भाषणसँग जोडेर देखाइएको थियो।

बीबीसीले यो त्रुटि सार्वजनिक भएपछि विवादमा तानिएको हो। यस मामलामा बीबीसीका निर्देशक जनरल टिम डेबी र हेड अफ न्युज डेबोरा टर्नेसले गत महिनामा राजीनामा दिएका थिए।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com