काठमाडौं । अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन् ।
मंगलबार सम्पन्न खेलाडी लिलामीमा कोलकाता नाइट राइडर्सले उनलाई २५ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । यो रकम सन् २०२६ को संस्करणका लागि तिरेको हो ।
यसअघि सन् २०२४ को लिलामीमा कोलकाताले नै मिचेल स्टार्कका लागि २४ करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको थियो । यद्यपि भारतीय रुपैयाँ र अमेरिकी डलरबीचको विनिमय दरमा उतार–चढाव हुने भएकाले त्यस समय स्टार्कको मूल्य डलरमा हेर्दा बढी मान्न सकिन्छ ।
ग्रीनको मूल्य करिब २७ लाख ७० हजार अमेरिकी डलर बराबर रहेको छ भने स्टार्कका लागि त्यसबेला २९ लाख ८० हजार डलर तिरिएको थियो । समग्रमा ग्रीन आईपीएल इतिहासका तेस्रो महँगो खेलाडी हुन् । यसअघि ऋषभ पन्त २७ करोड र श्रेयस अयर २६ करोड ७५ लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए ।
ग्रीनले यसअघि मुम्बई इन्डियन्स र डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुबाट आईपीएल खेलेका छन् । उनले आईपीएलका २९ खेलमा ७०७ रन बनाइसकेका छन् । चोटका कारण गत सिजन उनी मैदान बाहिर थिए । हाल २६ वर्षीय ग्रीन अस्ट्रेलियाका तर्फबाट इंग्ल्यान्डविरुद्धको एसेज सिरिज खेलिरहेका छन् ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












प्रतिक्रिया