विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।

बम विस्फोटसम्बन्धी पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले भिडियो सन्देशमार्फत पार्टीको निर्णय सार्वजनिक गर्दै आफ्नो धारणा स्पष्ट पारेका हुन् ।

advertisement

राज्यको अनुसन्धान प्रक्रियालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साम्पाङले अनुसन्धान निष्कर्ष नआएसम्मका लागि लामालाई पार्टीको उपाध्यक्ष पदसहित सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिए । उनले आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै अनुसन्धानमा कुनै पनि प्रकारको दबाब वा प्रभाव नपारिने स्पष्ट पारे ।

‘राज्यले निष्पक्ष छानबिन गरोस्,’ साम्पाङले भने, ‘यदि उहाँ दोषी ठहरिनुभयो भने कानुनअनुसार कारबाही हुनुपर्छ । यसमा पार्टीको कुनै आपत्ति छैन । तर यदि निर्दोष हुनुहुन्छ भने उहाँमाथि अन्याय हुन दिनु हुँदैन ।’

उनले थपे, ‘म गलतलाई गलत नै भन्छु । दोषी भए कारबाही अनिवार्य छ, तर निर्दोष व्यक्तिलाई दुःख दिन मिल्दैन ।’ अनुसन्धान प्रक्रियालाई सहज बनाउने र नैतिक जिम्मेवारी बहन गर्ने उद्देश्यले लामालाई निलम्बन गरिएको उनले स्पष्ट गरे ।

‘उहाँ निर्दोष प्रमाणित नभएसम्म पार्टीको पदमा रहनुहुन्न,’ साम्पाङले भने, ‘यदि दोषी ठहरिनुभयो भने पार्टीबाट निष्कासन हुनेछ । तर निर्दोष साबित भएर आउनुभयो भने पार्टीले पुनः सम्मानपूर्वक स्वागत गर्नेछ ।’ यस विषयमा पार्टीले औपचारिक प्रेस विज्ञप्ति जारी गर्ने जानकारी पनि उनले दिए ।

उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता रहेको र सशस्त्र द्वन्द्वकालमा सक्रिय रहेको कुरा आफूलाई जानकारी भए पनि अहिलेको पक्राउको समय र सन्दर्भप्रति भने साम्पाङले आशंका व्यक्त गरे । उनका अनुसार लामाले विगतमा कैद सजाय भोगिसकेको भनाइसमेत आएको छ ।

‘२०७९ को निर्वाचनमा भाग लिँदा केही भएन,’ उनले भने, ‘तर अहिले श्रम संस्कृति पार्टीप्रति जनसमर्थन र आकर्षण बढेपछि १३–१४ वा २०–२५ वर्ष पुराना विषय निकालेर पक्राउ गर्नु राजनीतिक प्रतिशोध र षड्यन्त्रको गन्ध आउँछ ।’

यद्यपि, कुनै पनि राजनीतिक षड्यन्त्र भए पनि आफूहरू विचलित नहुने र देश तथा जनताको हितमा काम गरिरहने प्रतिबद्धता साम्पाङले दोहोर्याए ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com